देश

पारिश्रमिक नपाएको भन्दै नागरिक दैनिकमा कार्यरत पत्रकार धर्नामा


काठमाडौँ – नागरिक दैनिकमा कार्यरत पत्रकारहरुले पारिश्रमिक नपाएको भन्दै बुधबारदेखि धर्ना सुरु गरेका छन् । नेपाल रिपव्लिक मिडिया प्रालिद्वारा संचालित नागरिक दैनिकको मुख्यालय प्रांगणमा दिउँसोदेखि पारिश्रमिक नपाएको भन्दै पत्रकारहरुले धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्वसचिव रामप्रसाद दाहाल, प्रेस युनियनका महासचिव अजय सिवाकोटी धर्ना कार्यक्रममा पुगेर एैक्यवद्धता जनाएका थिए भने त्यस्तै नागरिक दैनिकका सर्लाही संवाददाता टंक क्षेत्री, पाँचथर संवाददाता गिरीराज बास्कोटा, सिन्धुली संवाददाता अनिल भण्डारी, महोत्तरी संवाददाता महेशकुमार दास, तनहुँ संवाददाता श्रीहरि पौडेललगायत पनि धर्नामा बसेका छन् ।

एकसाता अघि मात्र युनियनमार्फत उनीहरुले प्रधान सम्पादक र व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा कुनै सुनवाई नभएपछि बाध्य भएर पीडित पत्रकारहरु धर्नामा बसेका हुन् । उनीहरुले धर्ना तथा कार्यालयमा तालाबन्दीसम्मको कार्यक्रम पनि तय गरेका छन् । धर्नामा बसेका पत्रकारहरुले नागरिक दैनिकले कार्यरत पत्रकारलाई करिब तीन वर्षदेखि पारिश्रमिक नदिएको बताएका छन् ।