Breaking

पाँचथर पहिरो अपडेट : हराइरहेका ३ मध्ये २ को शव फेला


काठमाडौँ — पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता भएकामध्ये अर्का एकको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर गएराती पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो ।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । प्रहरीका अनुसार बेपत्ताको खोजी तथा उद्धार हिजो राति देखिनै भएको थियो ।

बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए।