Breaking

पहिलो विश्वकपलाई फर्केर हेर्दा, विश्वकपपछि अर्जेन्टिनामा के भयो ?


काठमाडौँ — विश्वकपको १०० दिने दिनगिन्ती सुरु भइसकेको छ । जसले गर्दा हरेक फुटबल प्रेमीहरुमा उत्साहा छाएको छ । २२ औं संस्करण विश्वकप निकट हुँदा पहिलो विश्वकप कस्तो र कसरी खेलाइएको थियो त ? विश्वकपको पहिलो संस्करण सन् १९३० मा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा भएको थियो । सन् १९२८ को ओलम्पिकमा फुटबल तर्फको स्वर्ण विजेता उरुग्वेलाई विश्वकप हुनुभन्दा एक वर्ष अघि फिफाले फुटबल विश्वकपको आयोजना गर्न दिने ऐतिहासिक निर्णय गरेको थियो ।

पर्याप्त व्यवस्थित रंगशालाको अभावकाबीच पनि उरुग्वेले युरोपेली राष्ट्रहरुलाई पछि पार्दै पहिलो विश्वकपको आयोजना गर्न सफल भयो । आधाभन्दा बढि ल्याटिन अमेरिकी देश सहभागि भएको पहिलो विश्वकपमा युरोपबाट चार र उत्तर अमेरिकाबाट दुई राष्ट्र सहभागि थिए । आयोजक राष्ट्र उरुग्वेसहित अर्जेन्टिना, चिली, बोलिभिया, पेरु, पाराग्वे, ब्राजिल, फ्रान्स, युगोस्लाभिया, रोमानिया, बेल्जियम, मेक्सिको र अमेरिका गरि १३ राष्ट्रले पहिलो विश्वकप प्रतियोगिता खेलेका थिए ।


चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा एउटा समूहमा चार र अन्य समूहमा ३–३ राष्ट्रलाई सहभागी गराइएको थियो । आफ्नो समूह चरणको शीर्ष चार राष्ट्रले विश्वकपको सेमिफाइनल यात्रा तय गरेका थिए । जसमा अर्जेन्टिना, युगोस्लाभिया, उरुग्वे र अमेरिकाका रहेको थियो ।
सेमिफाइनलमा अमेरिकालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलको टिकट काटेको थियो । फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गर्ने क्रममा आयोजक उरुग्वेले पनि युगोस्लाभियालाई ६–१ कै अन्तरले हराउन सफल भएको थियोे ।


जुलाई ३० का दिन उरुग्वेको सेन्टेरियो रंगशालामा पहिलो विश्वकप जितेर इतिहास रच्ने दुई टिमको टुंगो लागिसकेको थियो । दुई टिमलाई मैदानमा उत्रिएको हेर्न ९३ हजार दर्शकहरु रंगशालामा आएका थिए । पहिलो विश्वकपको फाइनल खेल हेर्न अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरु रंगशाला पुगेका थिए ।
फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरुग्वेले पहिलो विश्वकपको उपाधि आफ्नो पोल्टामा पार्यो । पहिलो विश्वकपको उपाधि जित्दै राष्ट्रिय फुटबल टोलिले इतिहास कायम गरेको भोलिपल्ट उरुग्वेमा सार्वजनिक बिदाको दिएको थियो । तर, यता अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भने स्तब्ध समर्थकहरुले उरुग्वेको राजदुतावासमा ढुंगा हानेर प्रदर्शन गरे ।


प्रतियोगितमा सर्वाधिक ८ गोल गर्ने अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै पहिलो खेल जित्नेमा फ्रान्स रह्यो । फ्रान्स र मेक्सिकोबीच खेलाइएको पहिलो खेलमा ४–१ को नतिजा आफ्नो पक्षमा पार्दै फ्रान्सले पहिलो विश्वकपको पहिलो खेल आफ्नो नाममा गर्न सफल भएको थियो । फ्रान्सका लागि खेलको १९ औं मिनेटमा लुसियन लाउरेन्टले विश्वकपको पहिलो गोल गरेका थिए ।
पहिलो विश्वकपमा तीनवटा रंगशालाको प्रयोग गरिएको थियो । फाइनल खेल खेलाइएको रंगशाला उरुग्वेको स्वतन्त्रता दिवसको अवसरमा बनाइएको थियो । यो रंगशालालाई अहिले पनि उरुग्वेलीहरु स्वतन्त्रता तथा विजयको प्रतिकका रुपमा हेर्छन ।