समाचार

पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ


काठमाडौँ-— जो कोहीका लागि पनि पहिलोपटक आमा-बुवा बनेर भूमिका निर्वाह गर्नु निकै सकसको काम हो ।

बच्चाको जन्म पश्चात् आमाको व्यवहार तथा शारीरिक अवस्थामा परिवर्तन आउनुका साथै शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरू पनि उत्पन्न हुने गरेको पाइन्छ । तर पिता बन्ने पुरुषको बारेमा यस्ता कुनै कुरा सुनिंदैन । पहिलोपटक पिता बन्दा पुरुषको मस्तिष्क तथा मनमा के असर पर्छ होला, कसैले सोचेको छ ?

हालै गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले चाहिं पहिलोपटक पिता बन्ने पुरुषको मानसिक अवस्थामा परिवर्तन आउने तथ्यको खुलासा गरेको छ । अध्ययन अनुसार पिता बन्दा पुरुषको शरीरमा पनि स्नायुगत परिवर्तन हुन्छ । केवल आमा बन्ने महिलामा मात्र नभै बुवा बन्ने पुरुषमा पनि मस्तिष्कको भित्री पत्र अर्थात् न्युरल सबस्ट्रेसमा परिवर्तन आउने शोधर्ताहरूको दाबी छ ।

शोधकर्ताहरुका अनुसार नयाँ जिम्मेवारी तथा भूमिकासँगै पुरुषको मस्तिष्कमा पनि असर पर्दछ । पहिलोपटक पिता बन्ने पुरुषको मस्तिष्कमा रहेको कर्टिकल आयतनमा एक वा दुई प्रतिशतले कमी आउँदछ । यो प्रकारको संकुचन हो जुन मस्तिष्कको डिफल्ट मोड नेटवर्कसँग सम्बन्धित हुन्छ ।

शोधकर्ताका अनुसार जब पुरुषले अब आफू पिता बनेको कुरा स्वीकार गर्दछ तब उसको मस्तिष्क संकुचित हुन थाल्दछ । यस विषयमो शोध सेरेब्रल कर्टेक्स जर्नलमा प्रकाशित भएको छ ।

दिमागको आयतन अर्थात् कर्टिकल भोल्यूममा आउने कमी नकारात्मक हुन्छ भन्ने तपाईंलाई लाग्न सक्दछ । तर यसले नकारात्मक असर पुर्‍याउने नभै उल्टै मस्तिष्कको शुद्धता बढाउने गर्दछ र थप प्रशोधित गर्दछ । यसले पुरुषको आफ्नो बच्चासँगको मानसिक सम्बन्ध झनै गहिरो बनाउँदछ । बच्चासँग उसको सम्बन्ध र प्रेम झ्यांगिन्छ । जबकि आमा बन्ने महिलामा यो क्रिया केही बढी हुन्छ । त्यसैले आमाको आफ्नो बच्चासँगको लगाव, प्रेम तथा सम्बन्ध धेरै घना तथा गहिरो हुन्छ ।

पछिल्लो अध्ययन एमआरआई डाटामा आधारित छ । यसमा पहिलोपटक पिता बनेका ४० जना पुरुषको पिता बन्नु अगाडि तथा पछाडिको मस्तिष्कको अध्ययन गरिएको थियो । ती पुरुषमध्ये २० जना स्पेन र २० जना अमेरिकी पुरुष थिए ।

एजेन्सी