मौसम

पश्चिमी क्षेत्रमा तीन दिन लु लाग्न सक्ने चेतावनी


नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताउनु भयो । उहाँका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ ।

डा.उप्रेतीले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताउनु भयो । उहाँले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डमा नेपालमा शनिवारसम्म ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ । डा.उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनु भयो । उहाँले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनु भयो ।

डा.उप्रेतीले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताउनु भयो । उहाँले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताउनु भयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनु भयो ।

डा.उप्रेतीले अहिले अनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव दिनुभयो । दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्छ ।

अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक छ । लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उहाँको सुझाव छ ।