समाचार

परीक्षा केन्द्रबाटै कोरोना फैलने चिन्ता, संसदीय समितिले जारी गर्यो यस्तो निर्देशन


काठमाडौँ – कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका परीक्षाहरु एक साता अघिबाट सुरु भए । महामारी कायमै रहेका कारण स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा सञ्चालन गर्न पनि भनियो । तर, परीक्षा केन्द्रमा न त स्वास्थ्य मापदण्ड पालना गरियो न त सामाजिक दुरी कायमै गरियो । यहि स्थीतीलाई मध्यनजर गरेर संसदीय समितिले स्वास्थ्य मापदण्डको पालना गर्न निर्देशन नै जारी गरेको छ ।

संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्ध िनिर्देशिका अनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाए ।
मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा परीक्षा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उनले जानकारी गराए ।

समिति सदस्य एवं पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९ को बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताए । उनले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने तर्क उनको थियो ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने जानकारी गराए । सीसीएमसीको ९ बुँदे सुझाव सहितको स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।।

सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।