कोरोना विशेष

पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।