समाज

पक्राउ परेकी घरबेटी ३ दिन हिरासतमा बस्नुपर्ने


काठमाडौँ – जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ ।

दलित भनेर सञ्चारकर्मी रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । घरबेटी सरस्वती प्रधानलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने प्ररीसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत बताउनुभयो ।

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उहाँले बताउनुभयो । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

बस्नेतले भने, ‘तीन दिनअगाडी नै किनारा लाग्यो भने यो विचमा पनि मुद्धा अदालतमा पेश हुन सक्छ । यदि ३ दिनमा टुंगो लागेन भने म्याद थप गर्नुपर्ने हुनसक्छ ।’

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । आफुमाथी जातीय विभेद भएको उनको गुनासो छ । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।