Breaking

न्यून तर नियमित दर्शक,व्यस्त हुँदै रंगमञ्च र रंगकर्मी


काठमाडौँ – कोरोना महामारीले थलाएको नेपाली रंगमञ्च क्षेत्र सुस्तरी तंग्रिन थालेको छ । पारिजातद्वारा लिखित चर्चित उपन्यास‘शिरीषको फूल’ ले नाटक घरमा दर्शकहरुलाई तान्न थालेको हो । कलाको जीवन्तता र खारिएको अभिनयको असाधारण प्रस्तुती ठूलो पर्दाको चलचित्रमा भन्दा साना नाटकघरहरुमा देख्न सकिन्छ ।

नेपाली मौलिकता झल्कीने सटिक कथाहरुलाई नाटक घरमा जिवन्तता दिइन्छ । सिमित भए पनि नियमित दर्शकका कारण रंगमञ्च विधामा रंगकर्मीहरुको आकर्षण पनि बढ्दो छ । रंगमञ्जको मनोरञ्जनका लागि सामान्यतया सचेत दर्शकहरु नाटकघरमा पुग्ने गर्दछन् जो नाटकको नशा बोकेका हुन्छन् । तर सन् २०१९ को अन्त्यमा फैलिएको कोरोना महामारीको असरबाट नेपाली रङ्गमञ्च अछुतो रहेन ।

अझ अधिक असर नै रंगमञ्च र रंगकर्मीमा प¥यो । कोरोनाका कारण ठम्प रंगमञ्च क्षेत्र अब भने सुस्तरी लयमा फर्किएका छन । राजधानीमा अवस्थित नाटकघरहरूमा धमाधम नाटक मञ्चन हुन थालेका छन । पारिजातद्वारा लिखित चर्चित उपन्यास‘शिरीषको फूल’ शनिवार थियटर मल कीर्तिपुरमा मञ्चन गरियो ।

उपन्यासकै रुपमा प्रसिद्धी कमाएको शिरिषको फूल नाटक घरमा हेर्न दर्शकहरुको उपस्थिति पनि राम्रै देखिन्थ्यो । रंगकर्मी अञ्जान प्रदिपको निर्देशन र केदार श्रेष्ठका परिकल्पनामा नाट्य रुपान्तरण गरिएको उपन्यास दोस्रो पटक विशेष मञ्चन गरिएको हो ।

दर्शकको हौसलाले नेपाली कृतिको नाट्य रुपान्तरण मात्र नभई सुस्ताएको रंगमञ्च क्षेत्र थप चलायनमान हुने आशा सहित रंगकर्मीहरु थप हौसिएका छन् । कलिउड र बलिउडका चलचित्रहरु नेपाल भरीका चलचित्र हलहरुमा चलिरहेको छ । दर्शकहरुको उपस्थीति त्यता बाक्लो छ । तथापी एकथरी मानिसहरु छन् जो नाटकलाई नै रोज्छन् ।

रंगमञ्चलाई कलाकारले आफ्नो नर्सरीको रुपमा लिने गर्दछ । भने धेरैको कलाकारको पेसा नै यहि हो । न्यून दर्शक भए पनि उपत्यकामा मात्र आधा दर्जन बढि रंगमञ्च सञ्चालनमा छन । लामो समय ठप्प रंगमञ्च क्षेत्र लयमा फर्केसँगैै नेपाली रङ्गमञ्चलाई थप वृहत्तर रुपमा अगाडि बढाउन भने जरुरी देखिन्छ ।