खेलकुद

नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षकमा प्रदीप हुमागाईँ


काठमाडौँ — आगामी असोजमा दशरथ रंगशालामा बंगलादेशविरूद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रशिक्षकमा प्रदीप हुमागाईँ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल (एन्फा)ले आगामी असोज ११ गते नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेल खेल्ने निर्णय समेत गरेको छ।

एन्फाको बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले सो खेलका लागि हुमागाईँलाई प्रशिक्षक बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यका अनुसार हुमागाईँलाई अहिलेका लागि सो खेलका लागि मात्र प्रशिक्षक बनाउने निर्णय गरिएको हो । हाल नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा छन् ।

यद्यपी उनले मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको नाम पठाएको सार्वजनिक भएको थियो । हाल अमेरिकामा रहेका हुमागाईँ एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए । त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए । २०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक बनेका थिए । तर लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गरेको थियो ।