खेलकुद

नेपाली महिला राष्ट्रिय फुटबल टोलीमा अनुभवको कमी, एएफसी एसियन कपबाट बाहिरिएपछि के भने ?


काठमाडौँ – एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागि भएर आज नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागि भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभबको कमी निकै नै खड्कियो ।

उज्बेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन ग¥यो । यसमा कसैको दुई मत छैन । फिफा वरियतामा नेपालमा भन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थयो ।

दोस्रो खेलमा हङकङलाई गोल रहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन । पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो । तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए ।

दक्षिण एसियामा सिमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव संगाल्ने खेलको रुपमा पनि हेरिएको थियो । दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षा अनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे ।

यस्तै नेपाली टोलीकी कप्तान रेनुका नरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन् । कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने थपिन् ।

भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै दुख व्यक्त गरिन । टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मिहिनते धेरै खाचो रहेको बताइन् । फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिम तिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको बताइन् ।

उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ । टोलीमा अनुभबको निकै खाचौ पक्कै हो । सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नु पर्ने देखिएको छ ।