कोरोना विशेष

नेपालमा झन् बढी खतरनाक कोरोनाको भाइरस पुष्टि, तेस्रो लहरको चेतावनी


काठमाडौँ – नेपालमा कोभिड–१९ को डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गरिएका ४७ वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो ।

मन्त्रालयले गत जेठमध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागका फरक–फरक उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक्षणका लागि भारत पठाएको थियो । तीमध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीनवटामा थप उत्परिवर्तन म्युटेसन भेटिएको मन्त्रालयले जनाएको छ । जसलाई एवाई वान नाम दिइएको छ । नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यी भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको छ । संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डको पालना गर्न, गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।