कोरोना विशेष

नेपालमा ओमिक्रोन फैलन नदिने प्रयास भइरहेका छन् : स्वास्थ्य मन्त्रालय


काठमाडौँ – नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो ।

उहाँले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको बताउनु भयो । सह प्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ । सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको बताउनु भयो ।

उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताउनु भयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताउनु भयो ।