Breaking

नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भयोः बाबुराम भट्टराई


काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताउनु भयो । उहाँले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने बताउनु भयो ।

अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान,विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आफ्नो आफ्नो प्रकारका सबैखाले, हिन्दु, मुस्लिम, क्रिश्चियनका, आदिवासी जनजातीहरुका सबैका आफ्ना आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो । किनभने यो विज्ञान गतिका नियमहरु थहा थिएन ।

जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए । अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ । पहिला त स्वभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ । त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन् ।’

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गर्नुभयो । उहाँले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताउनु भयो । उहाँले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो नाम परिवर्तन भएपनि सार एउटै छ ।

अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो । आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभुत कुरा त केही मिल्दैन ।

हामी अग्रगमनको कुरा गरिरहेक छौँ । समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र, एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरु सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ । यो संविधान आधा गिलास भरि र आधा खालि छ । नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई धयन दिँदै हामीले पूर्ण रुपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ ।

तर पूर्ण गर्न सकेनौँ । पहिलो कुरा बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ ।’ अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो ।