Breaking

नेचासल्यानमा पुनः अध्यक्ष बन्न उमेदवार बनेका बास्तोला को हुन् ?


काठमामडौँ — नेकपा एमालेले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको अध्यक्षमा पुनः डुफकुमार बास्तोलालाई नै उमेदवार बनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्षमा विजयी भएका डुफकुमार बास्तोलाले ५ वर्ष गाउँपालिका चलाइसकेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्षमा पुनः बास्तोलालाई नै अघि बढाएको हो । उमेदरवारी मनोनयन दर्ताको समय सुरु भइसकेपछि उनले मनोनयनपूर्व गाउँपालिका अध्यक्षबाट राजीनामा गरिसकेका छन् । हाल पार्टीको जिल्ला अध्यक्ष समेत रहेका बास्तोलाले गत निर्वाचनमा नेपाली काँग्रेसका उमेदवार धनजन राईलाई पराजित गरेका थिए ।

५ वर्षे कार्यकालमा अध्यक्ष बास्तोलाले उक्त गाउँपालिकामा सबै गाउँ तथा टोलहरुमा सडक विस्तार, विद्युतीकरण, पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारहरुको विकास, कृषि, पशुपालन तथा युवा रोजगारीका योजनाहरु विशेष रुपमा सञ्चालन गरेका थिए । जिल्ला सदरमुकामबाट पालिका मुकाम जोड्ने सडक र पालिकाबाट वडाहरुमा जोड्ने सडकलाई उनले निर्वाचित भएको पहिलो बर्षबाटै प्राथमिकतामा राखेका थिए । अब भएका सडकहरुलाई स्तरोन्नती गर्ने कार्य मात्रै बाँकी रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए । उनले भने, ‘निर्माण भइसकेका सडकमध्य मुख्य सडकहरुमा कालोपत्रे गर्ने र बाँकी सडकहरुमा स्तरोन्नती गर्ने योजना अबको ५ वर्षमा पूरा गर्नुछ ।’

बास्तोलाले भने, ‘मैले नै विकासको जग हालेँ अब मै पूरा गर्न चाहन्छु । त्यसका लागि मेरो जीत आवश्यक छ, मलाई जनताले पुनः दोहोरिएको हेर्न चाहेका छन्, पार्टीले पनि मलाई नै सिफारिस गर्याे ।’ उनले यस अवधीमा हरेक गाउँहरुमा विद्युतीकरण विस्तार गरिसकेका छन् । विद्युतको संधै समस्या झेलिरहेका नेचासल्यानबासीका लागि बास्तोलाले दिगो समाधान दिएका छन् । ५० वर्षिय युवा उमेरका डुफकुमार बास्तोला सोलुखुम्बु जिल्लामा विकास निर्माणलाई मिहिन अध्ययन गरेका, योजना तर्जुमा क्षमता भएका, उर्जाशिल व्यक्तित्व भएका नेताको रुपमा चिनिएका छन् । हाल उनी नेकपा एमाले सोलुखुम्बुको जिल्ला कमिटि अध्यक्ष समेत हुन् ।

उनको राजनीतिक जीवन ३३ वर्ष भइसकेको छ । वि.स. २०४६ सालमा तात्कालिन नेकपा मालेबाट पार्टी सदस्यता लिएका उनले २०५५ सालदेखि २०५९ सम्म कार्यालय सदस्यको रुपमा जिम्मेवारी सम्हालेका थिए । वि.स. २०५९ साल देखि २०६६ साल सम्म एमालेको जिल्ला सदस्यको रुपमा काम गरेका थिए । वि.स. २०६७ देखि २०७२ सम्म एमाले जिल्ला सचिवको रुपमा भूमिका निभाएका थिए । त्यसपछि पार्टीको सातौँ अधिवेशनबाट बास्तोला नेकपा एमालेको जिल्ला उपाध्यक्ष बने । तात्कालिन नेकपा एमाले र माओवादी पार्टी एकता भएपछि बनेको नेकपा समयमा उनी कार्यालय सदस्यको भूमिकामा रहेका थिए । पुनः पार्टी विभाजन भएपछि उनी एमालेको अध्यक्ष बने ।

गत आठौँ अधिवेशनपछि पनि उनलाई एमालेको अध्यक्ष बन्ने सौभाग्य मिल्यो । अहिले उनले नै जिल्लामा नेकपा एमाले हाँकिरहेका छन् । वि.स. २०५४ सालमा तात्कालिन नेचा बेतघारी गाविस–९ को वडाध्यक्ष बनेका बास्तोला निरन्तर जिल्ला विकास समितिसंग नजिक रही विकास निर्माणका कार्यहरु समन्वयमा गर्ने नेतामा दरिन्छन् । वि.स. २०५९ सालमा जिविस सदस्य बनेका बास्तोलाले स्थानीय संरचनाहरु प्रतिनिधि विहिन् बनेका बेला जिविससंग सर्वदलीय संयन्त्रमा रहेर लामो समय काम गरे ।

वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष नै बनेपछि यस गाउँपालिकामा विकास निर्माणका योजनाहरुको प्राथमिकिकरण, योजना तर्जुमा, उत्पादनमुखी कार्यमा लगानी जस्ता योजनाहरु बास्तोलाको प्राथमिकतामा परेको थियो । अहिले उनी पुनः गाउँपालिका अध्यक्षका लागि उमेदवार बनेका छन् । उनीसंगै उपाध्यक्षका लागि श्रृजना राई उमेदवार बनेका छन् ।