खेलकुद

निर्धारित समयभन्दा एक दिनअघि सर्‍यो फिफा विश्वकप २०२२


काठमाडौँ – कतारमा हुने फिफा विश्वकप २०२२ एक दिन अघि सरेको छ । अब फिफा विश्वकप फुटबल एक दिन अघि नै अर्थात् नोभेम्बर २० मै सुरु हुने भएको छ । यसअघि नोभेम्बर २१ हुने सुरु हुने तय भएको थियो ।

नेपाली पात्रोनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ । जुन दिन नेपालमा सरकारले संघीय निर्वाचन घोषणा गरेको छ । जसअनुसार नेपालमा संघीय निर्वाचन हुने दिन नै विश्वकप फुटबल सुरु हुने भएको हो ।

बिहीबार जारी गरिएको फिफाको विज्ञप्तिमा ‘विस्तृत परामर्श प्रक्रिया र मुख्य सरोकारवालाहरू र आयोजक देशसँगको सम्झौता पछि यो निर्णय गरिएको’ उल्लेख छ ।

विश्व कपको उद्घाटन समारोहलाई पनि एक दिन अगाडि सारिएको छ । प्रतियोगिताको पहिलो खेल खेल्न दिनको लागि तालिकामा परिवर्तन गरिएको छ । एक दिन खेल सरेसँगै उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्ने भएका छन् ।