Breaking

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस्तो व्यवस्थाकै कारण सरकारले नयाँ बजेट सार्वजनिक हुने कम्तीमा १५ दिनअघि नै संसद्को दुवै सदनमा प्रि–बजेट छलफल गर्नुपर्नेहुन्छ ।

यस्तो बाध्यात्मक अवस्थाकाबीच गत वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सो बजेटलाई वर्तमान सरकारले अस्वीकार गरी पुनः प्रतिस्थापन विद्येयकमार्फत चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसद्मा पेस गर्नेगरी प्रारम्भिक खाका तयार पारेको छ । अर्थ मन्त्रालयले संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तको रूपरेखा छलछल गर्नेगरी गत २० वैशाखमा प्रस्ताव तयार गरेको थियो । तर, बजेट अधिवेशन सुरु नहुँदा अर्थ मन्त्रालयले अझै संसद्मा पेस गर्न सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी, कृषि, पर्यटनलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवद्र्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको बताइएको छ । बजेटको सिलिङ झन्डै साढे १७ खर्बको हुनेछ । मध्यमकालीन खर्च संरचना २०७८/७९ अनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने बजेटको सीमा १७ खर्ब ४७ अर्ब रुपैयाँको सिलिङ तोकिएको छ । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीको तलब बढाउने तयारी गरेको आजको राजधानी दैनिकमा खवर छ ।