Breaking

धोबीखोला कोरिडोरको डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन महामन्त्री थापाको सरकारसँग माग


काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग गरेका छन् । आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले छुट्टै आयोजना बनाउन माग गरेका हुन् । धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै थापाले अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउन पनि माग गरे । थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । उनले अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरुको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए ।