अर्थनीति

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन


काठमाडौँ – संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकालेको हो ।

सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको छ ।