अर्थनीति

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई तत्काल निलम्बन गर्न माग


काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयरमा चलखेल गरी लाभ लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरेर कारबाही अगाडी बढाउन माग गरेको छ ।

युनियनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न जोडदार माग गरेको हो ।

बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन भएको युनियनको ठहर छ ।

यस विषयले बोर्ड अध्यक्षको इमान्दारितामा प्रश्न उठेको भन्दै करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल गार्हस्थ्य उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन तत्काल छानबीन प्रक्रिया अगाडी बढाई दोषी उपर कारबाही गरिपर्ने युनियनको माग छ ।

सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएको भन्दै अर्थको पत्रप्रति पनि यूनियनले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।