Breaking

दैनिकी चलाउनै हम्मे भएपछि खेलाडी पलायन हुँदै, एक वर्षमै दर्जन बढि विदेशिए


काठमाडौँ — नेपालमा खेल जीवनबाट आफ्नो दैनिकी धान्न गाह्रो भएपछि खेलाडी पलायन हुन थालेका छन् । देशका लागि पसिना बगाएका खेलाडीहरु खेल क्षेत्रमै भविष्य नदेखेपछि सुनौलो भविष्यका लागि विदेशी पलायनहुने संख्या बढेको हो । नेपाली खेलकूद जीवनमा विदेशी भूमिमा नेपाली पहिचान बोकेर प्रतियोगिता खेल्न गएकाहरु उतै भूमिगत भएका उदाहरणहरु प्रशस्तै छन् । उदाहरणका लागि विश्वकप छनौट खेल्न जापान उडेका खेलाडीहरु उतै लुकेको घटना अझै ताजा छ । सन् १९९० देखि सुरु भएको खेलाडी पलायन अहिले नेपालका लागि नौलो हुन छोडिसकेको छ । दैनिक जसो आउने यस्ता खबरले खेल प्रेमीहरुमा निराशा छाए पनि संघका पदाधिकारीका लागि कुनै चिन्ता परेको छैन ।

खेलाडी पलायनको अवस्थाबाट गुज्रिदै आएको नेपाली खेलकुद क्षेत्रमा पछिल्लो समय यो श्रृंखला झन् बढ्ने क्रममा छ । अन्य खेलको तुलनामा सबैभन्दा बढी रुचाइएको खेल फुटबलको तथ्यांक निकै डर लाग्दो छ । हुन त अहिलेसम्म कति राष्ट्रिय खेलाडी विदेश पलायन भए भन्ने यकिन तथ्यांक एन्फासँग नै छैन । तर पछिल्लो केही वर्ष कै तथ्य हेर्ने हो भने फुटबलमा मात्रै दर्जन भन्दाबढी खेलाडी विदेशीएका छन् । पछिल्लो महिनामा दिनमा मात्रै सन्तोष तामाङ, नवीन गुरुङ, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, बिमल राना र हेमन्त थापा मगर गरि सात फुटबल खेलाडी पलायन भएका छन् ।


हुन त दैनिक हजारौ नेपाली रोजगारीका लागि विदेशीरहेका छन् । तर, देशका लागि पसिना बगाएका र उपाधि जितिसकेका उर्जाशील खेलाडीले विकल्प खोज्दा न सरकाको चासो छ न सम्बन्धित संघसँग नै यसलाई रोक्ने कुनै उचित कार्ययोजना छ । जसका कारण खेलाडीहरु विकल्प खोज्न बाध्य छन् । खेलेर नै पैसा कमाउने अवस्था नरहेको नेपालमा खेलाडीले पाउने पुरस्कार राशी पनि उधारो राख्ने गरेको छ । सन् २०१७ मा यु १९ को उपाधि उचालेका खेलाडीहरुले घोषणा गरेअनुसार पाउनु पर्ने रकम अहिलेसम्म पाउन सकेको छैन । त्यस्तै १३ औं सागमा स्वर्ण जितेबापत ५ लाखको पुरस्कार पनि पाउन सकेका छैनन् । खेलाडीले पाउनु पर्ने यस्ता पुरस्कारराशीको लिस्ट लामै छ ।


एक त प्रतियोगितको नै टुंगो छैन । त्यसमाथि घोषणा गरेको पुरस्कार पनि नदिने, खेल पनि नहुने भएपछि खेलाडीले आफ्नो भविष्य कसरी देख्छन् ? खेलकुदमा हुने विवादै विवाद र राजनीतिक खिचातानीले वाक्क खेलाडीहरु विदेशीनुमा नै आफ्नो भविष्य उचित ठान्छन् । खेलाडी पलायनको स्थिति नियन्त्रण तथा देश भित्रै खेलाडीको भविष्य उज्जवल बनाउने योजना ल्याउन धेरै ढिलो भईसक्यो । संघले यसको समाधानमा अझै ढिलो नगर्दा राम्रो ।