राजनीति

देउवा सरकारले बोल्न समेत नदिएको एमाले अध्यक्ष केपी ओलीको आरोप


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहितका नेताहरु बाहिरिए पनि पार्टी जहाँको त्यहीँ रहेको दाबी गर्नुभएको छ । बिग्रन लागेका तत्वहरु बाहिरिए पार्टीलाई कुनै असर नपर्ने ओलीको भनाइ छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेलाई सिध्याउन खोजिए पनि सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठेर बचाएको बताउनुभयो ।

सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै ओलीले नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको आरोप लगाउनुभयो । ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको दाबी पनि गर्नुभयो । कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको ओलीको टिप्पणी थियो ।