देश

देउवा सरकारको उपलब्धी : ७२ दिनमा थपिए १ मन्त्री, सपथ खाए लगत्तै अमेरिका यात्रा, एमसीसी बारे कुरा होला ?


काठमाडौँ – सरकार गठन भएको ७२ दिनपछि मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थपिएका छन् ।प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री रहेको मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका नेता नारायण खड्कालाई सरकारले परराष्ट्रमन्त्री नियुक्त गरेको हो ।अझै १६ मन्त्रालय नेतृत्वविहिन छन् ।

गठबन्धन सरकारको उपलब्धी,७२ दिनमा थपिए एकमन्त्री ।हो, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताधारी गठबन्धनको नेतृत्व गर्दै गत असार २९ माप्रधानमन्त्रीको सपथ खाएका थिए । माओवादी केन्द्रका दुई र काँग्रेसका दुई गरि चार मन्त्रीसहित सपथ खाएका देउवाले त्यसयता एक स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे । तर सरकार गठन भएको ७२ दिनवितिसक्दा समेत १७ मन्त्रालयलाई नेतृत्वविहिन बनाएपछि गठबन्धनको चर्काे आलोचना भइरहेको छ ।

यद्यपी बुधबार संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउने प्रतिनिधिसमेत नभएपछि बाध्यात्मक अवस्थामा सरकारले एक परराष्ट्रमन्त्री थप गरेको छ । महासभामा भाग लिनका लागि चारबजे परराष्ट्रमन्त्रीको टोली अमेरिका उडाउनु पर्ने भएपछि प्रधानमन्त्री देउवाले मंगलबार बेलुका निर्णय गराएर काँग्रेस नेता डा. नारायण खड्कालाई बुधबार नियुक्त गरेका हुन् ।दिउँसो १ बजे राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ खाए लगत्तै खड्का अमेरिका उडेका छन् । एमसीसीबारे चर्काे बहस भइरहेका बेला अमेरिका उडेका खड्काको भ्रमणलाई लिएर आशंका पनि गरिएको छ । तर परराष्ट्रमन्त्री खड्कालेएमसीसीबारे कुनै छलफल नहुने स्पष्ट पारेका छन् ।

सरकार विस्तारकै विषयलाई लिएर गठबन्धनभित्र मतभेद चुलिएका बेला प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । जबकि प्रधानमन्त्री देउवाकै पार्टीभित्रको रामचन्द्र पौडेल पक्षले समेत परराष्ट्रमा दाबी गरेको थियो । संस्थानइतर पक्षको तर्फबाट सरकारमा हिस्सा खोजिरहेको पौडेल पक्षले सुजाता कोइराला र मीनेन्द्र रिजाललाई अघि सारेको थियो । तर देउवाको रोजाईमा खड्का नै परेपछि पौडेल पक्षले छुट्टै बैठक बसेर असन्तुष्टि जाहेर गरेको छ । यता गठबन्धनमै आवद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत उपप्रधानसहित परराष्ट्रमन्त्रीमा दाबी गरिरहेका थिए । तर देउवाले खड्कालाई जिम्मेवारी दिएपछि गठबन्धनभित्र थप असन्तुष्टि चुलिएको छ ।

एक मन्त्री थपिए पनि सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहिन छन् । सत्ता गठबन्धनका दुई ठुला शक्ति काँग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् ढिलाइमा माधव नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपालाई कारण देखाउँदै आएका छन् ।गत भदौ २ मा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशकै कारण विभाजित बनेका दलहरुले अध्यादेशबारे फरक मत व्यक्त गरिरहेका छन् । माधव नेपाल यथास्थितिमै अध्यादेश पारित गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव अध्यादेशलाई निष्क्रिय बनाउनुपर्ने दाबी गरिरहेका छन् । यसैकारण मन्त्रिपरिषद्लाई पूर्णता दिने काम अझै लम्बिने देखिन्छ ।

सत्ता गठबन्धनका चार दलबीच एकसाथ भागबन्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने गरी बालुवाटारमा शीर्ष र दोस्रो तहका नेताहरूबीच केही दिनयता निरन्तर छलफलचलिरहेको छ । नेकपा एस र जसपा मात्रै नभई माओवादी केन्द्रमा समेत मन्त्री छान्नेविषय सकसपूर्ण बन्दै गएको छ । यता पौडेल पक्षको असन्तुष्टिकै बीच परराष्ट्रमन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले कांग्रेस महाधिवेशनको हिसाबकिताबलाई महत्व दिदा सरकार विस्तारको विषयले मूर्तता पाउन सकेको छैन ।