राजनीति

देउवा र पौडेलकै मिलेमतोमा नहुने भयो महाधिवेशन, ओलीले गिज्याउन थाले काँग्रेसलाई (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउन अब जम्माजम्मी एक महिना बाँकी छ । तर महाधिवेशन थप अनिश्चिता तर्फ धकेलिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन नचाहकै कारण थप अन्योलता छाएको विश्लेषण गरिएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा दोहोरिन परिपक्क वातावरण बन्नु पर्नेछ भने र, वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो समुहका अन्य आकंक्षीले सभापतिमा दाबी त्यागेर उनैलाई साझा उम्मेद्वार मान्न तयार हुनुपर्नेछ । तर यी दुबै नेताका दुबै विकल्पबारे काँग्रेसमा सुनिश्चिता नभएपछि महाधिवेशनसमेत तोकिएकै मितिमा हुन सकिरहेको छैन । यसको अर्थ सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नै आफु सुरक्षित नभएसम्म महाधिवेशन गर्नेभन्दा पर धकेल्ने रणनीतिमा छन् ।

फलतः नेतृत्व सम्हालिरहेका सभापति देउवाले निर्धारित मितिमा महाधिवेशन गर्ने तदारुकता देखाएका छैनन भने नेतृत्वमा जान प्रयासरत संस्थापनइतर समूहले समेत दबाब सिर्जना गर्न सकिरहेको छैन । बरु वरिष्ठ नेता पौडेलले सभापति देउवाकै अनिच्छाले महाधिवेशन नभएको र पार्टी अवैधानिक भइसकेको दाबी गरेका छन् ।

२०७२ को फागुनमा ४ वर्षका लागि सभापति निर्वाचित भएका देउवा कार्यकालको समयावधि सकिएर पनि ५ वर्ष ७ महिनामा हिँडिरहेको छन् । प्रमुख प्रतिपक्षमा थन्किएको काँग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएपछि उनी अहिले प्रधानमन्त्री पनि छन् । पार्टीको महाधिवेशन गराउने प्रमुख दायित्वसमेत देउवाकै छ । तर आगामी महाधिवेशनबाट पुनः सभापति हुन नसके फेरि प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

यसैकारण देउवा पुनः सभापति हुने निश्चित नहुँदासम्म महाधिवेशन गर्न चाहेका छैनन् । जसको पुष्टि देउवाले विहिबार धनगढीमा गरेका छन् । उनले महाधिवेशन कहिले हुन्छ भन्ने प्रश्नमा हलुका जवाफ दिदैँ आफुलाई थाहा नहुने भन्दै निर्वाचन समितिलाई थाहा हुने बताएका थिए ।

चौथोपटकसम्म महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको काँग्रेसले पछिल्लो समय मंसिर ९ देखि १३ सम्मलाई तय गरेको थियो । महाधिवेशनको मिति आउन अब जम्मा एक महिना जति बाँकी छ । वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न भएपनि कतिपय जिल्लामा विवाद कायमै छ भने त्यो भन्दा माथिका अधिवेशनको कार्यतालिका नै सार्वजनिक भएको छैन । यसैकारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भएको छ भने पाँचौपटक कार्यतालिका परिमार्जनको तयारी गरिएको छ । महाधिवेशन नै अन्योलमा पर्दासमेत संस्थापनइतर समुहले पर्याप्त दबाव दिन अनकनाइरहेको छ । जसको कारण हो संस्थापनइतर समुहभित्रकै अन्तरद्धन्द्ध ।

नेपाली काँग्रेसको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेले कांग्रेसले तय गरेको अवधिमै पर्ने गरी मंसिर १० देखि १२ सम्म महाधिवेशन गर्दैछ । वडा अधिवेशन सम्पन्न गरेर मंगबार पालिका अधिवेशन गर्दैछ । यसलाई काँग्रेसकै नेताहरुले चुनौति र दबावका रुपमा बुझेका छन् । अवस्था कस्तो आएको छ भने, लोकतान्त्रिक पार्टी भनेर हँुकांर गर्ने काँग्रेसले समयमा महाधिवेशन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दलले झ्याली पिटिरहेको छ ।

महाधिवेशनको तयारी र अनिश्चिता एकातिर धकेलिएको छ भने काँग्रेस नेताहरु अर्काेतिर बरालिएका छन् । केही समय अघिमात्रै संस्थापन पक्षका नेता प्रकाशशरण महतको टोली भारत दौडाहामा थियो । त्यसको केही दिनमै संस्थापनइतरका तर्फबाट सभापति दाबेदार एवम् महामन्त्री शशांक कोइराला भारत पसेका छन् । मुलतः काँग्रेसको महाधिवेशन नेताहरुको स्वार्थले जानाजान धकेल्ने काम भइरहेको देखिन्छ ।