देश

दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुल्ला, टिकट लिनेको चाप कम (भिडियोसहित)


काठमाडौँ – दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । दशैँ मनाउन घर जानेहरुका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो । काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्ष देखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । तर, सोमबार पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड भने देखिएको थिएन । काठमाडौंको नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ ११ बटा थप गरिएको छ । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाडौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष समत स्थापना गरेको छ ।

यो वर्ष कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण काठमाडौ छोड्नेको संख्या कमहुने आँकलन गरिएको छ । विगतमा अग्रिम टिकट बुकिङ खुलेसंगै पहिलो दिनमा नै यात्रुहरुको चाप हुने गथ्र्यो । तर, यो वर्ष बर्षपार्कमा विगतको जस्तो चाप भने थिएन् । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रीम टिकट बुकिङ खुला नगरिएको भएपनि यसवर्ष भने समयमा नै अग्रीम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला बताउँछन । तर दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु बुकिङ खुलेको पहिलो दिन नै यात्रुको चाप कम देखिएकाले निराश भएको उनी बताउछन् ।

अग्रीम टिकट बुकिङको पहिलो दिन काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको लाइन थियो । सर्वसाधारण पनि गत वर्ष भन्दा सहज तरिकाले टिकट लिन पाएकोमा खुशि देखिन्थे । कतिपय सर्वसाधारणले भने अनलाईन टिकट बुकिङमा पक्षपात गरेको गुनासो गरेका छन । पुर्व तर्फ जाने यात्रुलाई अनलाईन बाटै टिकट बुकिङको व्यावस्था गरे पनि पश्चिमका विभिन्न ठाउँमा जाने यात्रुका लागि भने लाइन बस्नु परेको उनिहरुको गुनासो छ ।

उपत्यकाको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट पनि खुला गरिनेछ ।