खेलकुद

तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छः प्रशिक्षक प्रभाकर



काठमाडौँ — नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले तीन महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गर्नुभएको छ । मुख्य प्रशिक्षक प्रभाकरले आईतवार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २ \३ महिनामा नै सुधार गर्ने बताउनुभएको हो । उहाँ नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आउनुभएको थियो ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आईतवार कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गर्नुभयो । प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताउनु भयो । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताउनु भयो ।