Breaking

डेंगी संक्रमणबाट २७ जनाको मृत्यु, संक्रमित संख्या २१ हजार नाघ्यो


काठमाडौँ — गएको असारयता तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको हो ।

यो अवधिमा सबैभन्दा धेरै काठमाडौँमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ११२ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २०० भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाले जनाएको छ ।

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरू बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ ।