प्रदेश नं. २

ठाकुरबाबा मन्दिरको जिर्णोद्धारमा अनियमतिता भएको स्थानियवासीहरुको गुनासो


काठमाडौँ – प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको छ । स्थानीय तहको समन्वय बिना योजना छनौट गर्ने र आफुखुसी कार्यकर्ताहरुलाई योजना बाड्ने गरिएको कारणले अनियमतिता हुने गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ ।

प्रदेश नम्बर २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर यसमा रकम अनुसार काम नभएको स्थानियवासीहरुको गुनासो रहेको छ । त्यसोत, माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् ।

मन्दिरका पूजारीका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेका थिए । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो ।

त्यसै अनुरुप ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो ।

यो योजनाको सम्पन्न भइसक्दा कुल ८२ लाख लागत लागेको छ । जसमा मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर स्थानियवासीहरुले त्यती रकम खर्च नभएको र यसमा आफूहरुलाई केही जानकारी नै नदिई सो काम गराइएको गुनासो गरेका छन् ।

मन्दिरको सौन्दर्यको नाममा रंग, रोगन बाहेक केही पनि नगरिएको उनीहरुको आरोप छ । यता नगराईन नगरपालिकाका जनप्रतिनिधि पनि सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताउँछन् । गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । तर प्रदेश सरकारले गर्ने कुनैपनि काममा आफुहरुसँग समन्वय नगरिएको र काम पनि गुणस्तरहिन भएको भन्दै सो वडाका जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।