Breaking

टुकुचाको वास्तविकताः महानगरको गुण्डाराजमा पनि किन वाहावाही ?, गणतन्त्रमै टुकुचावासीले बोल्नु समेत पाएनन्

महानगर पीडित


काठमाडौँ — राणाकालदेखि नै वैधानिकता पाएको काठमाडौंको घर–जग्गा हाल आएर अनधिकृत बनेको छ । कानुनी नियम र प्रक्रियाका आवश्यक सबै कागजात हुँदाहुँदै पनि आफ्नो संरचना भत्किदासमेत काठमाडौं हात्तीसारका स्थानीयहरू लाचार बनेका छन् । वर्षाैदेखि भोगचलन गर्दै आएको घर जग्गामा महानगरले डोजर चलाएपछि उनीहरु निर्धक्क भएर बोल्न पनि सकिरहेका छैनन् । राणा शासनदेखि नै वैधानिकता पाएको हात्तीसारका घरजग्गा यति खेर महानगरले अवैधानिक देखेको छ ।

राणा शासन, पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म वैधानिकता पाएर कारोबार हुँदै आइरहेको संरचना अहिले काठमाडौँ महानगरपालिकाले अनधिकृत भन्दै भत्काइरहेको छ । टुकुचा खोला मिचेर संरचना बनाएको भन्दै महानगरले डोजर आतंक मच्चाइरहेको छ । जग्गाको लालपुर्जा र घरको नक्सा पास हुँदा पनि कहिले महानगरको डोजर आउने हो र आफ्नो संरचना भत्काउने हो भन्ने चिन्तामा ९६ वर्षकी वृद्धा छिन् ।

स्थानीय बासिन्दाले कानुन अनुसार नै जग्गा किनेका छन् र सरकारी निकायको स्वीकृति लिएर भौतिक संरचना बनाएका छन् । तर, अहिले एक्कासी महानगरको डोजर आतंक चलेको छ । संरचना भत्काउने पनि कानुनी प्रक्रिया छ । तर, अहिले जसको घर भत्किदै छ, उसैलाई पनि केही थाहा हुँदैन । अचानक अराजक शैलीमा केही हूल मानिस आउँछन र दोहोरो संवाद विना नै संरचना भत्काउन डोजर चल्छ । कुनै समयमा सरकारले गरेको गल्तीको नतीजा आज वर्षाै देखि बस्दै आएका नागरिकले भोग्नुपरेको छ ।

अहिले कसैले काठमाडौँ महानगरपालिकाको गलत कामकै विरोध ग¥यो भने पनि उसलाई राष्ट्रघाती वा विकास विरोधी देखाइन्छ । महानगरका मेयर बालेन्द्र साहको आलोचना गर्दा कुटाइ नै खानुपर्ने डर छ । सामाजिक सञ्जालमा तीन पुस्ताले गाली खानुपर्ने स्थिति छ । पीडितहरुलाई अहिले धेरैले भूमाफियाको संज्ञा दिइरहेका छन् ।

तर, महानगरको चेपुवामा परेकाहरू भूमाफिया होइनन् । उनीहरु सोझा साझा आम सर्वसाधारण हुन् । कानुनी मामिलामा उनीहरु माथि पर्ने भए पनि महानगरको खुलेर विरोध गर्न सकेका छैनन् । ग्राउण्ड जिरोको रिपोर्ट हेर्ने हो भने स्थानीय पीडितमाथि महानगरले निरंंकुशशैली अपनाएको छ । लोकतन्त्रमा सार्वभौमसत्ता सम्पन्न नागरिकको आवाज बन्द भएको छ । पीडितहरु झन् पीडित बन्दै गएका छन् ।

महानगरको टुकुचा बचाउ अभियान दशकौं अघि सुरु भएको कतिपयको बुझाई छ । अहिले पनि त्यहाँ गगनचुम्बी भवनहरु निर्माण भइरहेको छ । ती भवन निर्माणका लागि महानगरले किन स्वीकृति दियो ? स्थानीय पीडितले आफ्नो भनाइ राख्न र प्रमाण पेश गर्न नपाउने नै हो त ? शताब्दीऔं देखि बग्दै आइरहेको टुकुचाको सुरुङ भत्काएर कसलाई फाइदा ? कयौं घर परिवारलाई विस्थापित गरेर अर्वाै अर्वाैको संरचनालाई क्षती गर्दैमा देश विकास सम्भव छ ? यी प्रश्नको उत्तर महानगरले सार्वभौम जनतालाई दिनै पर्छ ।