Breaking

ज्ञानेन्द्रको आक्रोशले थुरथुर गणतन्त्रवादी, टिकटको हानथाप दसैंको दिनमा पनि, शुभकामनामै राजनीति


काठमाडौँ — सत्ता गठबन्धनमा आवद्ध दलहरुले विजयादशमीको दिन पनि सुख पाएका छैनन् । भागबण्डालाई टुंग्याएर चुनावमा जानुपर्ने भएपनि आ–आफ्नै माथापच्चीले दसैंकै दिनमा पनि बालुवाटारको चक्कर काट्ने बनाएको छ । यता व्यवस्थाविरोधी र व्यवस्थाका हिमायतीहरुको डरत्रास चलिरहेको छ । शुभकामना सन्देशका नाममा पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार जारी गरेको भिडियो सन्देशमा राजनीतिक दलप्रति आक्रोश र व्यवस्थाको अवस्थाप्रति प्रश्न गरेका थिए ।

उनको सन्देशलाई राजसंस्थाको प्रखर हिमायती मान्ने राजनीतिक दलका नेताबाहेक गणतन्त्रवादीले स्वीकार्न सकेनन् । किनकि झण्डै डेढ दशकअघि दरबार छोड्नुको पीडा पूर्वराजाले भिडिओमार्फत ओकलेका थिए । तर शुभकामनाकै नाममा दाउपेच चलाउन गणतन्त्रवादी पनि कम देखिएनन् ।

एमाले लक्षित प्रहार गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आइतबार दसैंको शुभकामना जारी गर्दै प्रतिगमनविरोधीलाई मात्र भोट दिन अपिल गरेका थिए ।यसमा सोमबार थपिए, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । दसैंकै शुभकामना दिएका उनले पूर्वराजाको भनाइबाट त्रसित भएको भावभंगी देखाएर व्यवस्थामाथि कालो बादल मडारिएको बताएका छन् ।

शुमकामनामा समेत राजनीति गर्दै सुरु भएको दसैं टिकटको हानथापले टीका नै अलपत्र पर्नेगरि चलेको । सप्तमी, अष्टमी र नवामीमात्रै होइन, विजयादशमीको दिन पनि नेताहरु बालुवाटारमै बाँडफाँट गलफत्ती गरिरहेका छन् । तर झिंगाले डंगो मर्ला, सत्ता गठबन्धनका दलहरुबाट माखो मरेको छैन ।टीका लगाइदिनेहरु नै टिकटका लागि नेताको दैलोमा ढुकेर बसेपछि कतिका परिवार टीकाविहिन बनेका छन् ।