कर्णाली

जुम्लाका दुई स्थानीय तहले छात्रवृत्तिमा एमबीबीएस पढाउने


काठमाडौँ – जुम्लास्थित चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएका छन् । पहिलो र दोस्रो लहरको कोरोना महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम गर्न पालिकाले एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबीबीएस पढाउने निर्णय गरेको हो ।

पातारासी गाउँपालिकाको नीति कार्यक्रममा एकजना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबीबीएस पढेका एक जना व्यक्ति पनि छैनन् ।

छात्रवृत्तिमा भएपनि एमबीबीएस पढाउनुपर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । “गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ ।

पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौँ”, उनले भने ।

जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबीबीएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् ।

नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबीबीएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भनिन्, “विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ ।”