खेलकुद

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित


काठमाडौँ — जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । आज सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो बनाएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका आसिफ शेखले २९ रन बनाउँदा विनोद भण्डारीले २८ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे ‘ए’का लागि बर्नान्डो माटुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ब्राड इभान्सले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनाएको थियो । ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए ।