Breaking

जसपाबाट पहिलो गाउँपालिका अध्यक्ष गम्बु शेर्पा


काठमाडौँ — ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका गम्बु शेर्पा जनता समाजवादी पाटीबाट पहिलो गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

शेर्पाले पञ्चायती शासनकालदेखिकै कांग्रेसको गढ भत्काएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले काँग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

शेर्पाले २८८२, काँग्रेसका बस्नेतले २७५२ तथा एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याए ।

उपाध्यक्षमा काङ्ग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन् । उनले २८२४ मत ल्याएर विजयी हुँदा जसपाको उम्मेदवारलाई २२४१ र एमालेको उम्मेदवारका पक्षमा १७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

पञ्चायती व्यवस्था देखी नै कांग्रेसको गढका रूपमा रहेको खिजिदेम्वालाई पहिलो पटक शेर्पाले कांग्रेसको विरासत तोडेका छन् ।

नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति महेश कोर्मचा तथा प्रदीप सुनुवारको गृह पालिका रहेको यो गाउँपालिकाका प्राय सबै स्थानका कांग्रेसको बर्चस्व रहेको छ ।

अघिल्लो स्थानीय निर्वाचनको समयमा केही वडामा एमालेले जितेको भए पनि यो पटक एमालेले एक वडा पनि जित्न सफल भएन । अहिले पनि गाउँपालिकाको वडा नं. १ र वडा नं.६ मा जसपाले जितेको छ भने अन्य वडामा कांग्रेसलेले जितेको छ ।

नेपाली कांग्रेसको मजदुर संगठनबाट विद्रोह गरेर दुई वर्ष अघि जसपा भएका शेर्पाले गाउँका हरेक स्थानमा जनताको विकासका काम गरेकै कारण सफलता प्राप्त गरेका हुन् ।