देश

जननिर्वाचितबाट नै कार्यलय बन्द


काठमाडौँ – प्रहरीले दुर्व्यवहार गरेपछि दाङको घोराही उपमहानगरपालिकाका वडाध्यक्षले घोराहीका सबै वडा कार्यालय बन्द गरेका छन । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द भएका हुन् ।

जनप्रतिनिधिमाथि नियोजित उद्देश्यले दुव्र्यवाहार भएकाले विरोधस्वरुप एक दिनका लागि सबै वडा कार्यालय बन्द गरिएको घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १८ का वडाध्यक्ष भरत अर्यालले बताए । कागजपत्र र परिचयपत्र देखाउँदा देखाउंदै पनि प्रहरी कार्यालय अगाडि वडाध्यक्षलाई रोकेर प्रहरी निरीक्षक रामनारायण गुप्ताले एक किलोमिटर अगाडिबाट स्कुटर सुस्त गतिमा किन नचलाएको भन्दै निहुँ खोजेको प्रवक्ता अर्यालको दाबी छ ।

वडाध्यक्ष पाण्डेले आफू वडावासीका लागि अक्सिजन सिलिण्डर खोज्न निस्किएका बेला प्रहरीले रोकेको बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले नियोजित रुपमा नभई प्रहरीले नचिनेकाले चेकजाँचका लागि रोकेको बताए । उनले चेकिङमा खटिएका प्रहरी निरीक्षकले कमजोरी स्वीकार गरिसकेको पनि बताए ।