देश

चुनावको दिन बिहानैदेखि मेघ गर्जन र चटयाङ्ग सहित पानी पर्ने


काठमाडौँ — स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

त्यसमा लेखिएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना पनि छ । अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ । असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ ।