अर्थनीति

चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीको भनाई, कार्यान्वयन गरेर देखाउने प्रतिबद्दता(भिडियोसहित)


काठमाडौँ – बजेट संविधानसम्मत नै आएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको जिकिर गरेका उनले बजेट कार्यान्वयन गरेर देखाउने बताए । साथै उनले खोपको अभियान र निर्वाचन सरकारको प्राथमिकतामा परेको समेत दाबी गरे ।

अध्यादेशमार्फत बजेट ल्याउन नपाईने तथा काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने विज्ञहरुको तर्ककाबीच अर्थमन्त्री विष्णु पौडेलले बजेट संविधानसम्मत आएकोे बताएका छन् । आज सिंहदरबारमा पत्रकार सम्मेलनमा गर्दै उनले पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको जिकिर गरे ।

संसद् नभएको अवस्था र जेठ १५ मै बजेट ल्याउनुपर्ने संबैधानिक बाध्यताले अध्यादेशबाट बजेट ल्याइएको उनको भनाइ छ । बजेट देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएको समेत उनले बताए । भोलिदेखि नै सम्बन्धित मन्त्रालयहरुसँग योजना र कार्यान्वयनका आधारमा छलफल अघि बढाउने र बजेटको कार्यान्वयनलाई तीव्रता दिने मन्त्री पौडेलले बताए ।

शनिबार प्रस्तुत बजेटमा चुनावका लागि सरकारले बजेट नछुट्याएको तथा बजेट बढि वितरणमुखि भएको विज्ञहरुले टिप्पणी गरेका थिए । त्यसको उत्तर दिदै मन्त्री पौडेलले निर्वाचन गराउने राष्ट्रिय अभिभारा पूरा गर्न सरकारले सम्पूर्ण सामथ्र्य लगाउने बताएका थिए । निर्वाचनका लागि कति बजेट विनियोजन गरिएको नखुलाएका उनले सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको उनको भनाई छ ।

आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । उहाँले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताउनुभयो ।

सरकारले शनिबार आगामी आवको लागि कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड विनियोजन गरेको थियो । जसलाई धेरैले निर्वाचन घोषणा भएको अहिलेका अवस्थामा मतदाता रिझाउने किसिमको बजेट आएको भनेर टिप्पणी गरेका थिए । अर्थविद्हरुले महामारीकाबीच ठूलो आकारको बजेट आएको भन्दै खर्च नै नहुने संम्भावना औल्याएका थिए ।