राजनीति

चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी


काठमाडौँ – महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् । चार वर्ष वडा चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित हुनुपरेको छ ।

चौधरीले नेपाली कांग्रेसबाट जितेका थिए । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६६ मत मात्र आयो । २६८ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भएका छन् ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो । तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालत पुगे र आज न्याय पाएका छन् ।

पुनः मतगणनापछि निर्वाचित वडाध्यक्ष रायले उच्च अदालत जनकपुरले न्याय दिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘कांग्रेस नेता र तत्कालीन निर्वाचन अधिकारीले धाँधली गरेका थिए । आज ढिलै भएपनि सत्यको जित भयो । खुशी लागेको छ ।’

उनले अन्तिम आर्थिक वर्षमा वडाध्यक्षको कार्यभार सम्हाल्ने भएकाले इमान्दारितापूर्वक काम गर्ने बताए । धाँधली गरी वडाध्यक्ष भएका चौधरीले व्यापक भ्रष्टाचार गरेको र अब उनीविरुद्ध कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।