समाचार

चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन


काठमाडौँ – चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यान्सर देखिएको थियो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क संगतमार्फत उनले अभियान चलाएकी थिइन् ।

भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको भन्दै अभियान नै चलाएकी थिइन् । उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् ।

सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् । उनले सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठनमा काम गरेकी थिइन् ।

सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर विभिन्न अभियान चलाएकी थिइन् । भासिनको निधनले भारतको मात्र नभइ दक्षिण एसियाको महिला आन्दोलनमा अपूरणीय क्षति पुगेको अधिकारकर्मीहरूले बताएका छन् ।