Uncategorized

ग्रीन टायरको नयाँ उत्पादन नेपाली बजारमा


काठमाडौं – नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखेर निजी लगानीमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको सारथी नामक टायर अहिले नेपाली बजारमा उपलब्ध छ ।

भौगोलिकका साथै, कृषि क्षेत्रमा पनि उपयुक्त हुने गरी निर्माण गरिएको सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ । टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।

कम्पनीका अनुसार हाल यो टायर १३.६–२८ को साइजमा मात्र बजारमा उपलब्ध भए पनि आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत उपलब्ध गराउने तयारी रहेको छ । तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ । आगामी वर्ष देखि ५ लाख थान टायर उत्पादन हुनेछ ।