Breaking

गाली खाने माधव, फाइदा लिने देउवा र प्रचण्ड, फुटका कारण एमालेलाई सय सिट घाटा


काठमाडौँ — स्थानीय तह निर्वाचनमा सबैभन्दा बढि घाटा एमाले र एकीकृत समाजवादीले भोगेका छन । मत परिणाम सार्वजनिक हुँदै गर्दा कांग्रेस पहिलो पाटी बन्ने देखिएको छ भने माओवादीले पनि आफ्नो स्थिती सुधार गरेको छ । तर एमाले दोश्रोमा खुम्चिदा एकीकृत समाजवादीलाई पनि गठबन्धनको खासै लाभ देखिएको छैन । यहि कारण निर्वाचन परिणाम नेपाल–ओली एकताको विन्दु बन्ने चर्चा समेत सुरु भएको छ । स्थानीय तह निर्वाचको मतपरिणाम सार्वजनिक हुँदै गर्दा गठबन्धनको सबैभन्दा बढि फाईदा नेपाली कांग्रेसले पाएको छ ।

आफ्नै पार्टी भित्र फरक मतका बाबजुद पनि तालमेलमा होमिएको उसका लागि यो फलिफाप बन्दै गठबन्धनले माओवादीलाई पनि आशाको सन्चार गराईदिएको छ । विगतमा २६६ पालिका जित्दै दोश्रो स्थानमा समेटिएको कांग्रेस अहिले तीन सय अंक कटाउन अग्रसर देखिन्छ । यस्तै १०६ सिटमा चित्त बुझाएर तेश्रो बनेको माओवादी केन्द्र पनि यो पटक सिट सुधार गर्ने अवस्थामा छ । तर यहि गठबन्धनको चोटले नेकपा एमाले दोश्रो स्थानमा खुम्चिएको छ भने उसलाई स्वाद चखाउन विद्रोही बनेका माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीको पनि अवस्था राम्रो देखिएको छैन ।

विगतमा २९४ पालिका जितको एमाले अहिले सय स्थान कम १९४ कै छेउछाउमा रहने देखिएको छ । तर पार्टी फुटेकै कारण एमालेले १ सय पालिका गुमाए पनि फुटेर बनेको एकीकृत समाजवादीले भने धेरै गए २० सिटसम्म उक्लिने सम्भावना छ । कांग्रेस र माओवादीको अवस्था सुधार भइरहँदा भाई फुटे गवार लुटेको अवस्थमा केपी शर्मा ओली र माधवकुमार नेपाल देखिएका छन । आफूलाई एमालेको आधा शक्तीका रुपमा दावी गर्ने तथा पार्टी फुटाएर विपक्षीलाई सत्ता बुझाएको आक्षेप खेपेका नेपालले भने आफ्नो फाईदाँ अरुले नै लुटेको वल्ल थाहा पाएका छन ।

फलत स्थानीय तहको चुनावमा गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको नेपालले बताउन थालेका छन । स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम आउन नसकेको बताँउदै उनले गठबन्धनका विषयमा समीक्षा गरिने बताउँदै आएका छन् । यसरी एकातर्फ एमाले पनि खुम्चिने र आफ्नो विद्रोहको फाईदा पनि अरुले नै लिने परिस्थितीले एमाले र एकीकृत समाजादीबीच एकताको मिलनविन्दु फेला पर्नसक्ने केहिको विश्लेषण छ । शब्द जालको भ्रमले राजनीतिक तरंग आएको देखिएपनि अन्तत मतसंख्यामा भने फरक नपार्ने उनीहरु बताउछन ।

मतसंख्याको कुरा गर्दा विगतबाटै कांग्रेसलाई ३३ प्रतिशत, एमालेलाई २८ प्रतिशत मत आईरहेको बताउने उनीहरु माओवादीको भने निश्चित नभएको बताउछन । विगतमा ३० प्रतिशतसम्म पुगेको माओवादीको मत अहिले १५ प्रतिशतमा तथा मदेश वादीको लगभग ११ प्रतिशत मत आउने तर्क गर्छन । अर्थात पहिलेबाटै मत प्रतिशत निश्चित रहेको अवस्थामा दलहरुमा आउने उतारचढाव यहि बाँकि प्रतिशमा चुनावी रणनितिले पार्ने प्रभाव मात्र हो । उनीहरुका तर्कले ठुलो पार्टीको फुट मत निश्चित नभएका दलहरुका लागि बढि फाईदाजनक हुने देखिन्छ ।

तर एमाले भने यो गल्ती स्वीकार्न अझै तयार छैन । केन्द्र र प्रदेशसरकार बाहिर हुँदै स्थानीय निर्वाचनमा समेत नराम्रो स्वाद चाखेको एमालेका नेताहरु आफ्नो दल अझ शशक्त बनेको तथा एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको उनीहरुको तर्क छ । हुन त गठबन्धनमा एकीकृत समाजवादी पहिलेबाटै पेलानमा पर्दै आएको छ । विशेषत सिट भागवन्डाका क्रममा समेत कांग्रेस र माओवादी दुवैको पेलानमा परेको उसका लागि वाम गठबन्धनमा पनि ठाँउ नहुने पिरले तालमेलमा जानुको विकल्प थिएन । तर खुम्चिएको सिटसंख्याले घमण्ड तोडिएको एमाले र तालमेल फलिफाप सिद्ध नभएको एकीकृत समाजवादीका लागि यो मतपरिणाम मिलनविन्दु हुने सम्भावन धेरै छ ।