विदेश

गायक राहुल जैनविरूद्ध बलात्कारको आरोप


काठमाडौँ — भारतीय गायक तथा संगीतकार राहुल जैनविरूद्ध बलात्कारको आरोप लागेको छ ।उनीविरूद्ध ३० वर्षीय फेशन डिजाइनरले बलात्कारको आरोप लगाएकी हुन् ।
डिजाइरका अनुसार राहुलले मुम्बईको अंधेरीस्थित आफ्नै घरमा बलात्कार गरेका थिए । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार घटना अगस्ट ११ मा भएको हो । प्रहरीले राहुलविरुद्ध उजुरी दर्ता गरेको छ ।

ओशिवारा पुलिस स्टेशनमा रेकर्ड गरिएको बयानमा राहुलले उनलाई इन्स्टाग्राममा सम्पर्क गर्दै उनको कामको तारिफ गरेका थिए । साथै उनले आफ्नो आधिकारिक ड्रेस डिजाइनर बनाउने आश्वासन दिएका थिए । उक्त विषयमा कुराकानी गर्नको लागि उनले आफ्नो फ्ल्याटमा बोलाएका थिए । गत अगस्ट ११ मा राहुलको घर गएपछि उनले आफूलाई सामान देखाउने बहानामा बलात्कार गरेको डिजाइनरले दाबी गरेकी छन् ।

राहुलको विरोध गर्दा उनले आफूमाथि कुटपिट गरेको र पछि प्रमाण नष्ट गर्ने प्रयास गरेको डिजाइनरले बताएकी छन् । पुलिसले राहुलविरुद्ध भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार) ३२३ (स्वैच्छिक चोट पुर्याउने) र ५०६ (आपराधिक धम्की) अन्तर्गत उजुरी दर्ता गरिएको छ । तर अहिलेसम्म उनलाई प्रक्राउ गरिएको छैन ।

राहुलले सफाइ दिँदै भनेका छन्, म उनलाई चिन्दिनँ । उनले लगाएका आरोप झुटो र आधारहीन छ । यसअघि पनि एक महिलाले ममाथि यस्तै आरोप लगाएकी थिइन् तर मैले न्याय पाएँ । यो महिला पनि त्यो महिलासँग मिलेको हुनसक्छ । गत वर्ष उनीविरूद्ध बलात्कार, जबरजस्ती गर्भपतन र धोकाधडीको आरोप लागेको थियो । राहुल जैनले फिल्म फीवरको तेरी याद से बोलको गीतबाट गायनमा डेब्यू गरेका थिए । उनले २५० भन्दा बढी म्युजिक ट्र्याक बनाइसकेका छन् ।