Breaking

गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए


काठमाडौँ — गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन् । उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए । सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए । ‘सगरमाथाको चुचुरोमा पुग्दा मलाई यति गर्व भयो कि हामी यस्तो सुन्दर देशमा छौं । नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ । त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ,’ उनले भने ।

६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए । मेरो उद्देश्य सगरमाथा चढ्नु मात्रै नभएर जलवायु परिवर्तनले गर्दा हाम्रो जनजीवन कष्टकर बन्दै गएको छ । त्यसलाई आफ्नो स्तरबाट कसरी सन्देश दिन सकिन्छ भनेर कन्सर्ट गरेको हुँ,’ उनले भने, ‘पहिला मैले ६ हजार पाँच सय ७४ मिटरको उचाइमा कन्सर्ट गरेको थिएँ । त्यसपछि पुनः मैले ७ हजार ९ सय मिटरमा कन्सर्ट गरेको आएँ ।’ उनको उक्त कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।

उनले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए । यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए । उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन् ।