गण्डकी प्रदेश

गण्डकी प्रदेशमा विपक्षी किन आक्रोशित ?

पूर्वमुख्यमन्त्रीले किन देखे खतरा ?


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा आज भएको मत विभाजनमा पोखरेलको पक्षमा ३१ सांसदले समर्थन गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेले पोखरेलको पक्षमा मतदान गरेका थिए । नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरे । गण्डकी प्रदेश सभामा हाल ५९ सांसद छन् । बहुमतका लागि ३० सांसदको समर्थन आवस्यक थियो ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सफल कार्यकालको शुभकामना दिए । संघीयता बलियो बनाउनकै लागि आफू मुख्यमन्त्री हुँदा काम गरेको भन्दै गुरुङले प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । साथै उनले प्रदेशको नाम तमुवान राखे आफु नेतृत्वको सरकार जोगाइदिने अफर आएको दाबी गरे । पूर्वमुख्यमन्त्री गुरुङले कुन पार्टीले त्यस्तो प्रस्ताव राख्यो भन्ने विषय भने खुलाएनन् ।

प्रतिपक्षमा बसेर सरकारको विरोध गर्नै पर्छ भन्ने प्रवृत्तिको अन्त्य गर्न नेकपा एमाले लागेको उनले बताए । संघीयता कार्यान्वयन गर्न काम नगर्नेहरूले नै संघीयताबारे धेरै कुुरा गर्ने गरेका भन्दै उनले व्यंग्य गरे ।

विश्वासको मतको विषयमा भएको छलफलको क्रममा एमालेका सांसद्हरुले विपक्षी गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका थिए । साथै बाढी पहिरोले जनता विक्षिप्त बनेको बेला सरकारले राहतको कार्यक्रम ल्याउन नसकेको, सांसद् र मन्त्रीको सुविधा बढाउन नै ध्यान केन्द्रीत गरेको विपक्षीको आरोप थियो ।

विपक्षी गठबन्धन संघीयता विरोधी र राजनीतिक अस्थिरतको पक्षपाति भएको भन्दै सरकार धेरै दिन नटिक्ने ठोकुवा विपक्षीले गरे । तर विपक्षी गठबन्धनका सांसद्हरुले भने सरकार गठनको पहिलो साता नै जनपक्षिय काम गरेको भन्दै सरकारको बचाउ गरेका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले कांग्रेस संसदीय दलका नेता पोखरेललाई जेठ २९ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको एक महिना भित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यबस्था छ । यसअघिका मुख्यमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकी पदबाट हटेका थिए ।