राजनीति

गण्डकीमा ढल्यो ओलीको सत्ता, कांग्रेसका नेता पोखरेल बने मुख्यमन्त्री, दीपक मनाङ्गे फेरि मन्त्री (भिडियोसहित)


काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको माग गरेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । तर निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि गण्डकीमा दिनभर हंगामा भएको थियो ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नियुक्त भए लगत्तै नवनियुक्त मुख्यमनत्री पोखरेलले अन्य दल तथा सांसदहरुलाई समेत समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । शुक्रबार प्रदेशसभाबाट लिएको विश्वासको मतमा असफल सिद्ध भएर पद गुमेका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शनिबार फेरि बहुमतको दाबी गरे । नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सरकार गठनको घनिभूत तयारीका साथ अन्तिम चरणमा रहेका बेला मुख्यमन्त्री गुरुङले यसअघि केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकै हतकण्डाको सिको गर्दै प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गर्दा केहीबेर हंगामा भयो ।

३१ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा दावी गरेका कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले संविधानअनुसार बहुमत सांसद उपस्थित गराउँदा पनि आफूलाई नियुक्त नगरेको भन्दै प्रदेश प्रमुखले अराजकता मच्चाएको आरोप लगाए । विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालय बाहिर पलेटी कसेर धर्ना दिए ।

गुरुङले जसपाको प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापाको पत्रसहित बुहमत दावी गरेपछि प्रदेश प्रमुखले कसैलाई नियुक्त गर्न नसक्ने अवस्था सिर्जना भयो । शनिबार अपरान्हसम्म पक्ष विपक्षको रस्साकस्सीले धुमलिएको राजनीतिक कोर्षमा एकाएक परिवर्तन आयो । तर विपक्षी गठबन्धनको सांसदले सपथ ग्रहण नगरेसम्म विश्वास गर्ने आधार नभएकाले निरन्तर दबाव दिईरहने बताए ।

अब मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेश सभामार्फत विश्वासका मत लिनुपर्नेछ । यसअघिका मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । तर सत्तामा रहन अन्तिमसम्म अनेक तिकडम गरेपनि उनी सफल हुन सकेनन् ।