Breaking

गठबन्धन भत्काउन एमालेलाई जसपाको साथ, देउवा–प्रचण्ड छोडी ओलीतिर उपेन्द्र, एमाले तालमेलमा तयार


काठमाडौँ — सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डाकै विषयमा असहमति देखिएपछि जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेलको प्रयास गरेको छ । जसपाको कदमले यसअघिदेखिनै गठबन्धन भत्काउन लागिपरेको एमाले राहत महसुस गरिरहेको छ ।

हुनत जनता समाजवादी पार्टीको अध्यक्ष रहेका उपेन्द्र यादव, जहाँ जहाँ प्रचण्ड त्यहाँ त्यहाँ देखिन्छन् । प्रचण्ड सरकारमा पुग्दा उपेन्द्र छुटेको रेकर्ड छैन्, प्रचण्ड गठबन्धन वा तालमेलमा रहँदा त्यसकै एकहिस्सा उपेन्द्र बनिरहेका हुन्छन् । अहिले नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन छ । प्रचण्डकै बलबुतामा बनेको गठबन्धनको नेतृत्व नेपाली काँग्रेसले गरेको छ ।झण्डै डेढ बर्ष तंरिएको गठबन्धन अहिले भने जसपाकै कारण विभाजनको संकटमा छ ।

आगामी मंसिर ४ को संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा लगाउँदा मात्र १७ सिट पाउने अवस्था बनेपछि जसपाले गठबन्धनबाट बाहिरिने र अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ । त्यो सँगै नेकपा एमालेसँग जसपाको भेटवार्ता र तालमेलबार छलफल सुरु भएको छ ।

जसपाको पकड क्षेत्र मधेश प्रदेशमा हो ।अहिलेकै गठबन्धनमार्फत निर्वाचनमा गए जसपाले उत्साहजनक परिमाण ल्याउने सम्भावना निकै कम छ । अहिले पनि उसको उद्देश्य मधेश प्रदेशमा पहिलो पार्टी बन्ने र सरकार चलाउने हो । तर जसपाका लागि काँग्रेस बाधक बनेको छ । किनकि मधेश प्रदेशमा जसपाभन्दा काँग्रेसको पक्षमा मतभार धेरै छ । यसो हुँदा भागबण्डामा काँग्रेसले बढी सिट पाउने र जसपा आफ्नो उद्देश्यमा असफल हुने अवस्था आउन सक्छ ।

१६ सिटमात्रै पाएर आफ्नै नेताको चित्त बुझाउनुपर्ने संकटमा परेका उपेन्द्रलाई एमालेले ३५ सिटसम्म दिनसक्ने नेताहरुको बुझाईले गठबन्धन भत्काउने निष्कर्षमा पुगेको देखिन्छ । एमाले पनि विगतदेखि न गठबन्धन भत्काएर आफु बलियो बन्ने दाउमा छ । झर्ला र खाँउलाको नीति अख्तियार गरेको एमाले तयार देखिन थालेको छ ।

मधेशमा ओलीको सक्रियताले जसपाका प्रतिनिधिसभादेखि प्रदेशसम्मका सांसदहरु एमालेमा प्रवेश गरेका छन् । माधव नेपाल बाहिरिनुको क्षति ओलीले यस्तै यस्तै प्रवेशबाट भरपाई गरिरहेका छन् । जसपा एमालेसँग मिल्ने तयारी चलेकै बेला लोसपा भने एमालेसँग टाढीन थालेको छ ।

गत निर्वाचनमा पनि अन्तिम समयमा आएर एमाले–माओवादी तालमेल भएपछि काँग्रेस एक्लै परेको थियो । अहिले जसपा बाहिरिएर एमालेसँग मिल्ने खबरले पनि अन्य दल जिल्लकै अवस्थामा छन् । तर अझै परिपक्क वातावरण नबनेका कारण गठबन्धन भत्किएला, अनि झर्ला र खाउलाको अवस्थामा रहेकाहरु छटपटीमै छन् ।