राजनीति

गठबन्धनले समर्थन फिर्ता लिए देउवाले राजीनामा दिनुपर्ने, पूरा गर्लान् देउवाले कार्यकाल ? (भिडियोसहित)


काठमाडौँ – सर्वोच्चको परमादेशसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब करिब—करिब १७ महिना सत्तामा रहनेछन् । देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसदको बाँकी सत्ता चलाउन १६५ सांसदले विश्वासको मत दिएसँगै उनले १७ महिना आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन् । तर यहीबीचमा उनलाई समर्थन गरेका दलहरुबीच फाटो आएर अल्पमतमा परेभने देउवाको कार्यकाल के हुन्छ त ?

संविधानको धारा ७६ को उपधारा ५ को प्रधानमन्त्री बनेका देउवा अबको डेढ वर्षपछि हुने आम निर्वाचनअघि उनी कुनै कारणबस् बीचमा हट्न सक्छन् या सक्दैनन् भन्ने एउटा चासो छ । उसोत, देउवा संविधानले व्यवस्था गरेको धारा ७६ अन्तर्गतको अन्तिम विकल्पका प्रधानमन्त्री हुन् । देउवाले विश्वासको मत नपाएको भए, सिधा तरिकाले संसद विघटन गरेर मुलुक निर्वाचनमा जाने थियो । तर देउवाले विश्वासको मत पाइसकेका छन् ।

अब बाँकी रहेको डेढ बर्ष सरकार चल्ने विश्वास गरिएको छ । तर ढुक्क हुने अवस्था भने छैन । के देउवा सरकार डेढ बर्ष अघि नै ढल्न सक्छ त ? यस विषयमा संवैधानिक मामिलाका जानकार भने देउवा अल्पमतमा पर्ने गरी दल वा सांसदहरूले समर्थन फिर्ता लिए भने उनले या त राजीनामा दिनुपर्छ या संसदमा विश्वासको मत लिएर आफू बहुमतमा छु भन्ने प्रमाणित गर्नुपर्छ ।

विश्वासको मत लिन नसके देउवाले संसद विघटन गर्न पाउने छैनन् । बरु अर्काे कुनै व्यक्तिले बहुमत पु¥याउने सके सरकारको नेतृत्व उसले गर्नेछ । यसको अर्थ प्रक्रिया फेरि धारा ७६ को २ मा फर्किनेछ । तर उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले एकपटक विश्वासको मत लिइसकेपछि फेरि विश्वास गुमाएर अल्पमतमा परे, संसद विघटन गर्न नपाउने तर्क छ ।

कतिपयले भने धारा ७६ को अन्तिम प्रधानमन्त्रीले विश्वासको मत पाएर बीचमै विश्वास गुमाएपनि संसद विघटनमा जानसक्ने बताउँछन् यसले संविधानविद्को पनि मत बाँझिएको देखाउँछ ।

हुनत अब देउवाको सरकार कति चल्ने भन्ने आधारमा विश्वासको मत दिएकाहरुको कदममा निर्भर रहेने छ । यदि कुनै विषयमा विवाद भएर हाल विश्वासको मत दिनेहरुले समर्थन फिर्ता लिए देउवा अल्मपतमा पर्ने छन । हुन त संसद विघटन गरेर चुनावमा जान सक्ने वा अर्को सरकारका लागि मार्ग प्रसस्त गर्ने भन्ने विषयमा प्रष्ट नभएकोले यो विषय पुन अदालतसम्म जानसक्ने देखिन्छ ।