Breaking

खेलाडी–प्रशिक्षक विवादबारे छानविन समितिले बुझायो २८ पृष्ठको प्रतिवेदन, आवश्यकता अनुसार प्रतिवेदन कार्यन्वयन गरिने


काठमाडौँ — एसियन कप तेस्रो चरणको तयारीमा हुन पर्ने खेलाडीहरु न्यायका लागि भौतारी रहेका छन् । नेपाली फुटबलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी र १० खेलाडीबीचको विवाद भएको पनि झण्डै एक महिना बित्न लाग्दा बल्ल आज छानविन समितिले एन्फालाई प्रतिवेदन बुझाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि गठित तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ ।

समितिले आज एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच उक्त प्रतिवेदन एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको हो । नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित समितिले १० दिन लगाएर विभिन्न ९ फरक शीर्षकमा प्रतिवेदन तयार पारेको थियो । छानबिन समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका थिए । एन्फाले सात दिन भित्र प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा लाने विश्वास छानविन समितिले लिएको छ ।

राष्ट्रिय टिममा यत्रो उथलपुथल हुदाँ मध्यस्थकर्ताको भू्िमकामा देखिनु पर्ने एन्फा मुक्दर्शक बन्दै समस्याबाट भागेको कुरा कोही कसैसँग लुकेको छैन । एन्फा खेलाडी र प्रशिक्षकसँग फरकफरक कुरा गर्दै आएको क्याम्प छाडेका खेलाडीहरुले नै बताउँदै आएका छन् । यस्तोमा एन्फा महासचिव तुलाधरले छानविन समितिले बुझाएको प्रतिवेदनको अध्ययन पछि मात्र कार्यान्वयन गरिने बताए ।

एन्फाले समितिलाई ७ दिनको समय दिइएको भएपनि स्थानिय निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले खेलाडी, प्रशिक्षक अलमुताईरी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव तुलाधर, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो । एएफसी एसियन कप तेस्रो चरणको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए ।

एकैपटक खेलाडी निकालिएको घटनाले नेपाली फुटबलमा ठूलो विवाद सिर्जना भए पनि एन्फाले त्यसको १० दिनपछिमात्र छानविन समिति गठन गरेको थियो । राष्ट्रिय टोलीका रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडी र होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।