Breaking

खुम्बु पदमार्ग स्थित अधिकांश जोखिमयुक्त पदमार्गहरुको सुधार, फाक्दीङ, लार्चेदोभान र खुम्जुङमा आकर्षक बाटो निर्माण


काठठमाडौँ — विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने पदमार्ग स्तरोन्नती गरिएको छ । जोखिमयुक्त दर्जनौँ स्थानमा पदमार्ग विस्तार गर्ने क्रममा कतै स्तरोन्नती त कतै नव निर्माण गरिएको छ । अहिले खुम्बु भ्रमणमा जाने पर्यटकहरुलाई यात्रामा निक्कै सहज भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका अन्तर्गत पर्ने खुम्बु पदमार्गको अधिकांश स्थानमा बाटो स्तरोन्नती गरिएको छ । विशेष गरी वडा नम्बर ३, ४ र ५ मा पदमार्ग विस्तार गरिएको हो । स्थानीय सरकारमा पहिलो पटक जनप्रतिनिधी चयन भएपछि पदमार्ग स्तरोन्नतीको योजनाले प्राथमिकता पाएको थियो । जस अन्तर्गत फाक्दीङ र टोकटोकको जोखिमयुक्त क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ ।

फाक्दीङबाट राङदीङतर्फ आउने क्रममा भीरमा खोपिएको साँघुरो बाटोलाई फराकिलो तथा पक्की बनाइएको छ । घेराबार समेत भत्कीसकेको करिव एक मिटरको बाटोलाई आर.सी.सी पिलर र ढलान सहित करिव २ मिटर सोही पदमार्ग अन्तर्गत टोकटोकमा पनि जोखिमयुक्त क्षेत्रमा पदमार्ग पुननिर्माण गरिएको छ । फाक्दीङमा झैँ स्ल्याब ढलान गरी रेलिङसहितको सिँडी निर्माण गरिएको छ । पहराको बीचबाट कायम रहेको पुरानो बाटोलाई फराकिलो र पक्की बनाइएको हो । यस्तै ३ र ५ नम्बर वडाको सीमा क्षेत्रमा पर्ने लार्चेदोभानमा पनि पदमार्ग सुधार गरिएको छ । यहाँ पहिले गोरेटो बाटो देख्नसमेत मुस्कील थियो । कुल एक करोड ४० लाख रुपैयाँमा भिरालो भाग जति सबैमा सिमेन्टेड सिँडी बनाइएको छ ।

डेढ मिटर चौडाई सहितको फराकिलो बाटो निर्माण भएपछि पर्यटकहरुलाई आवतजावतमा निक्कै सहज भएको छ । विशेषगरी खुम्जुङका अगुवाहरुले खुम्जुङ र खुन्देलाई आकर्षक पदमार्गबाट सुसज्जीत गर्ने योजना बनाएका थिए । खुन्दे–खुम्जुङ चक्रपथको नाम दिएर यहाँ फराकिलो र व्यवस्थित बाटो निर्माण गर्ने सपना अहिले व्यवहारमै पुरा भइरहेको देखिन्छ । पदमार्ग विस्तार गर्दा भूमिगत पाइपलाइन बनाएर हरेक स्थानीयको घरघरमा पानीको पाइप पुर्याइएको छ । धारा निर्माण कार्य पनि हुँदैछ । अहिले निर्माण भइरहेको बाटोको चौडाई ८ देखि १२ फिटसम्मको छ । खुम्जुङ हुँदै गोक्योतर्फ जाने पदमार्गमा पर्ने फर्लामको बाटो पनि व्यवस्थित गरिएको छ ।

भीरको टापुमा रहेको यो बाटो फराकिलो र व्यवस्थित गरिएको हो । यस अघि साँघुरो बाटो हुँदा पशु चौपायासमेत लडेर मर्ने गर्दथे । पर्यटकहरु ज्यानै जोखिममा राखेर हिड्नु परेपछि जनप्रतिनिधिहरुले पदमार्ग स्तरोन्नतीका लागि चासो दिएका थिए । पदमार्ग विस्तार स्तरोन्नती गरिएपछि अहिले पर्यटकलाई मात्रै नभई स्थानीयलाई समेत आवतजावत गर्न सहज भएको छ । अझैँ खुम्बु पदमार्गको थुप्रै स्थानमा पदमार्ग सुधार गर्नु पर्ने आवश्यकता छ त्यसका लागि आगामी ५ वर्ष पनि गाउँपालिकाले यसतर्फ विशेष ध्यान दिन जरुरी देखिन्छ ।