समाचार

खशी बोका किन्नेको भीड, पोहोरको भन्दा महँगो भएको गुनासो


काठमाडौँ — खाद्य कम्पनीले सहुलियतमा खशीबोकाको बिक्री सुरु गरेसँगै दशैंको रौनक थप बढेको छ । कम्पनीले बजार सन्तुलन गर्न सञ्चालन गरेको सहुलियत पसलमा खशीबोका किन्नेको भीड लागेको थियोे । दशैं भन्नासाथ खशी, बोका, च्यांग्रा जस्ता पशुहरु विशेष प्राथमिकतामा पर्ने गर्छ । दशैंमा मासुको माग धेरै हुने भएकाले पनि यो पर्वमा खशीबोकाको किनबेच निकै हुन्छ ।

धेरै किनबेच हुनेहुँदा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले सरकारी स्तरबाट सहुलियत बजार सञ्चालन गर्ने गरेरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बुधबारबाट खशी,बोका तथा च्यांग्राको बिक्री थालिसकेको छ । कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री थालेको पहिलो दिनै उपभोक्ताको बाक्लो उपस्थिति थियो ।

गत वर्षभन्दा झण्डै ६ सय बढी खशी, बोका र च्यांग्रा काठमाडौँ भित्र्याउने लक्ष्य राखेको कम्पनीले सञ्चालन गर्ने यस्ता कार्यक्रमले बजारमा मूल्य स्थिर रहन मद्दत गर्छ । दशैंलाई लक्षित गरेर अन्य व्यापारीले विभिन्न स्थानमा राख्ने बजारको तुलनामा खाद्यले बेच्ने खशी बोकाको मूल्यमा प्रतिकिलो न्यूनतम एक सय रुपैयाँ कम पर्न आउने कम्पनीको दावी छ ।

काठमाडौँमा खशी बोका बिक्री हुने ठाउँ धेरै छ । तर, पनि चर्काे मूल्य र बिचौलियाबाट हुन सक्ने ठगीबाट जोगिन मानिसहरु खाद्य कम्पनीतर्फ आकर्षित हुने गरेका छन् । खाद्यप्रति आमसर्वसाधारणको विश्वसनीयतासँगै सस्तोमा स्वस्थकर उपभोग्य वस्तु पाउने भएकाले पनि आममानिस खाद्यमा नै जाने गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मुल्यले आम सर्वसाधारणमा केहि राहत मिलेको छ । तर, प्रत्येक वर्ष बजार महंगी रहँदा सामान जति सस्तो भए पनि नागरिकहरु मारमा परेका छन् । तुलनात्मक रुपमा अन्यत्र भन्दा खाद्यमा सस्तो हुने भएता पनि पोहोरको भन्दा यस वर्ष केही महंगो भएको सर्वसाधारणको गुनासो छ ।

अष्टमीसम्म सञ्चालनमा हुने यो कार्यक्रममा यस वर्ष २ हजार खशीबोका काठमाडौँ भित्र्याउने लक्ष्य कम्पनीले राखेको छ । मकवानपुर, दाङ र धादिङबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर ल्याइएको हो । खरिद गरिएकामध्ये ५९१ खसीबोका र २११ सय च्याङ्ग्रा काठमाडौं ल्याइसकिएको छ भने बाँकी आउने क्रममा छ ।

दशैंको रौनककै रुपमा हेरिने खशीबोकाको बिक्रीले नेपाली कृषकहरुका लागि पनि केही राहत दिएको छ । सबै क्षेत्रमा भारतको सामानले बजार ओगटिरहेको अवस्थामा आफ्नो उत्पादनले बजार पाएपछि कृषक पनि उत्साही भएका छन् ।