राजनीति

क्रियाशील सदस्यता छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाउने


काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते मंगलबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए ।

समितिले देशभरका करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ । प्रवक्ता पौडेलका अनुसार केही स्थानबाहेक सबै ठाँउमा सर्वसम्मत रुपमा सहमति गरेर नै सदस्यता टुंगो लगाएको हो ।

समिति प्रवक्ता पौडेलका अनुसार देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ । त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ । विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन ।

सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन । समिति प्रवक्ता पौडेलले समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ । दुई जिल्लामा देखिएको समस्या र विवाद पनि जटिल भएकाले यसपटक नयाँ र समायोजनलाई स्थगन गर्ने निर्णय समितिले गरेको छ । यसको मतलब उनीहरुले मतदान गर्न पाउने छैन । तर बारा र सप्तरीको हकमा भने १३ औं महाधिवेशनकै क्रियाशीलबाट महाधिवेशन प्रक्रिया अगाडि बढाइने छ ।

त्यस्तै समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा देखिएको समस्या बारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई नै सिफारिस गरेको छ ।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । समितिले पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको हो ।